पिएम कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

पिएम कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

काठमाडौँ  । कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो। कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिष्पर्धा गर्नेछ।

कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनले ३५ बल खेलेर ७ चौका प्रहार गरिन्। कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै ७ चौकाको मद्दतमा ३७ रन जोडिन्। अप्सरी बेगम १२ रनमा अविजित रहिन्।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले १ विकेट लिइन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रनको योगफल बनाएको थियो।

उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन्। इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले ७/७ रन बनाए।

कोशीका लागि संगीता राईले २ विकेट लिइन् भने निशा शाह, अलिसा खादिया र सबनम राईले १/१ विकेट लिए।