सुनदह क्षेत्रका तयार गरिएको वृत्तचित्रको प्रिमियर शो काठमाडौंमा सम्पन्न

सुनदह क्षेत्रका तयार गरिएको वृत्तचित्रको प्रिमियर शो काठमाडौंमा सम्पन्न

रुकुम पूर्वस्थित पुथा उत्तरगङ्गा गाउँपालिका–३ मा अवस्थित रमणीय पर्यटकीय स्थल सुनदह क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता र बहुमूल्य जडीबुटीहरूको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्रको प्रिमियर शो सम्पन्न भएको छ ।

प्रिमियर शो नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा नेपाल पर्यटन बोर्डको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो ।

वृत्तचित्रमा सुनदह क्षेत्रका अनुपम प्राकृतिक दृश्य, उच्च हिमाली भूभागमा पाइने बहुमूल्य जडीबुटीहरू तथा दुर्लभ वन्यजन्तुहरू—जस्तै रेड पाण्डा र कस्तुरी—को जीवनशैली र संरक्षणका पक्षहरू सशक्त रूपमा प्रस्तुत गरिएको छ। यसले जैविक विविधताको संरक्षणसँगै दिगो पर्यटन विकासको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका–३ का वडा अध्यक्ष बम बहादुर पुनको निर्देशनमा निर्माण भएको उक्त वृत्तचित्रको छायांकन भिमसेन कल्याल ठकुरी र मिलन मगरले गरेका हुन् भने सम्पादन भिमसेन कल्याल ठकुरीले गरेका छन् । स्क्रिप्ट सुरबिन्द्र पुनले लेखेका हुन् भने भ्वाइस ओभर दिप्यदेव पन्तको रहेको छ ।

वृत्तचित्रले ओझेलमा परेका ग्रामीण तथा हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने पूर्व प्रधानमन्त्री दाहालले बताउनुभयो । वृत्तचित्र हेरेपछि गत महिना सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा सुनदह पुग्न नसकेकोमा खेद व्यक्त गर्दै उहाँले अब पर्यटन प्रवर्द्धनसँगै आवश्यक भौतिक पूर्वाधार विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि पुथा उत्तरगङ्गा गाउँपालिकामा केन्द्रीय र प्रदेश सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका पर्यटनका साथै विद्युत् उत्पादनको पनि ठूलो सम्भावना बोकेको क्षेत्र हो । सुनदहजस्ता सयौँ गन्तव्यहरू अझै पर्यटकको पर्खाइमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सर्य थपलियाले वृत्तचित्रले रुकुम पूर्वका पर्यटकीय सम्भावनालाई प्रभावकारी रूपमा उजागर गरेको बताउनुभयो । छायांकन, सम्पादन, ब्याकग्राउण्ड म्युजिक र भ्वाइस ओभरलगायतका प्राविधिक पक्ष उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले वृत्तचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने र नेपाल टेलिभिजनबाट प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.ले वृत्तचित्रले गाउँपालिकालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न तथा स्थानीय स्रोत–साधनको संरक्षणमा जनचेतना फैलाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सुनदह तथा आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदमार्ग निर्माण आवश्यक रहेको वडा नं. ३ का वडा अध्यक्ष बम बहादुर बुढा विजयले बताउनुभयो । उहाँका अनुसार सुनदह सर्किटका विभिन्न स्थानमा कठिन यात्रा गर्नुपर्ने भएकाले व्यवस्थित पदमार्ग निर्माण अपरिहार्य रहेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन, पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, लुम्बिनी प्रदेशका संस्थापक सभामुख तथा पूर्व प्रतिनिधिसभा सदस्य पूर्ण घर्ती, लुम्बिनी प्रदेश मामिला तथा कानुन समितिकी सभापति दिलकुमारी बुढा तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सर्य थपलियालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ३ का वडा अध्यक्षले राख्नुभएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.ले गर्नुभएको थियो ।