राजनीतिक स्थायित्वका लागि बाबुरामले गरे तीन प्रस्ताव
काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल सधैं शासकीय अस्थिरतामा रुमल्लिएको भन्दै तीनवटा विषय प्रस्ताव गरेका छन् ।
अस्थिर शासकीय व्यवस्थाबाट जनता आजित भएको भन्दै भट्टराईले स्थायित्वका लागि तीन विकल्प अगाडि सारेका हुन् ।
नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा भट्टराईले ६/८ महिनामा सरकार र मन्त्री परिवर्तनको क्रमलाई तोड्न ढिलाइ भइसकेको बताएका हुन् ।
‘६/८ महिनामा सरकार परिवर्तन, मन्त्री परिवर्तन अनि कसरी स्थिरता हुन्छ ? यसैले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार हुन आवश्यक छ,’ भट्टराईले भने, ‘सबै दलले मिलेर ५ वर्षसम्म सरकार चलाउने जर्मनीको जस्तो, सबै समानुपातिक आधारमा सरकार चलाउने स्वीट्जरल्यान्डको जस्तो वा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन गरेर ५ वर्ष नै स्थायी सरकार चलाउने विकल्पमा अब जानुपर्छ ।’
अस्थिर शासनले जनतामा निराशा र आक्रोश रहेको भन्दै उनले विदेश गइरहेका युवालाई रोक्न यी विकल्पको छलफल अगाडि बढाउनुपर्ने बताएका हुन् ।
उनले अब नयाँ ढंगले एकता र राष्ट्रिय मेलमिलाप गर्नुपर्ने भन्दै दलले सहमति खोजे देश बन्ने पनि बताए ।




लेखकको सम्वन्धमा