बाबुराम भट्टराईलाई त्रिविको भीसी बनाउन लबिङ, चर्चामा भगवान कोइराला पनि

बाबुराम भट्टराईलाई त्रिविको भीसी बनाउन लबिङ, चर्चामा भगवान कोइराला पनि

त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउन थालेको छ । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गर्ने बताएपछि चासो झन् बढेको छ । उपकुलपतिका लागि कांग्रेस, माओवादी केन्द्रनिकट केही प्राध्यापकहरूले पनि चासो राख्न थालेका छन् । उनीहरूले विभिन्न राजनीतिक समूह र सूत्र समातेर लबिङ अगाडि बढाएका छन् ।

माओवादी स्रोतका अनुसार उपकुलपतिमा यसपटक प्रधानमन्त्री प्रचण्डले बोल्ड निर्णय लिने तयारी गरेका छन् । राजनीतिक दबाब थेग्न सक्ने अवस्था भएमा उपकुलपति केही फरक र महत्त्वपूर्ण पात्र नियुक्त हुन सक्ने पनि बताइएको छ ।

उपकुलपतिका लागि माओवादीनिकट चन्द्रमणि पौडेल, लेखनाथ शर्मा, शिवराज भुसाल र केशरजंग बरालको नाम चर्चामा आएको छ । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने शर्मा खुला विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । उनीहरू पनि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि चासो राखेर माओवादी नेताहरूमार्फत लबिङ बढाइरहेका छन् ।

माओवादीनिकट प्राध्यापक संगठनमा राजनीति गरेका पौडेल भने पहिला त्रिविको रजिस्ट्रार थिए । त्यसपछि राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षसमेत रहेका पौडेल अहिले उपकुलपतिको दौडमा छन् । प्रधानमन्त्री प्रचण्ड र नेता  वर्षमान पुनलाई समेत भेटेर उनले चासो देखाइसकेका छन् । अनि, अहिलेका कार्यवाहक उपुकलपति भुसाल जो रेक्टर पनि हुन्, उनी पनि दौडमा छन् । भुसालका लागि भने त्रिविका कर्मचारीहरूले पनि लबिङ गरिरहेका छन् । भुसाल खासमा बोल्ड निर्णय नगर्ने र कर्मचारीको एजेन्डा पूरा गरिदिने भएका कारण कर्मचारीले उनको पक्षमा लबिङ गरेको चर्चा पनि भइरहेको छ ।

माओवादीनिकट उनीहरूको सट्टा अहिले कांग्रेसनिकटहरूको पनि दौड रोकिएको छैन । कांग्रेसनिकट पूर्वउकुलपति तीर्थ खनियाँ फेरि दौडमा सामेल भएका छन् । त्रिविको उपकुलपति हुँदा निकै विवादमा तानिएका खनियाँ अहिले पनि दौडमा लागेपछि त्रिविमै आश्चर्य मानिएको छ । चार वर्षअघि खनियाँले प्रधानमन्त्री प्रचण्डको बलमा चितवनको कृषि विश्वविद्यालयको उपकुलपति हुन पनि खोजेका थिए । त्रिविमै दोहोरिन खोजेका खनियाँले त्यहाँ नहुने भए कृषिमा भए पनि जाने भनेर चितवनको राजनीतिक शक्ति प्रयोग गरेका थिए । भलै, त्यहाँ प्रचण्डले खनियाँको सट्टा पुुण्यप्रसाद रेग्मीलाई पठाए । अनि, खनियाँ अहिले पनि दौडमा लागेका हुन् । खनियाँबाहेक पूर्वरेक्टर गुणनिधि शर्मा पनि दौडमा छन् । कांग्रेसनिकट उनी ल क्याम्पसका प्राध्यापक पनि हुन् ।

राजनीतिक रूपमा भागवण्डा हुँदा एकीकृत समाजवादी पार्टीको आस पनि त्रिविमा देखिएको छ । माधव नेपालनिकट मानिएका प्राध्यापक विजय सिलवाल पनि नियुक्तिको आसमा छन् । शिक्षा मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)को भएका कारण उसले पनि भाग खोजिरहेको छ । त्यसैले, उपकुलपति नियुक्ति राजनीतिक खिचातानीको चक्करमा परेको छ ।

बाबुराम र भगवानको चर्चा 

त्रिविको उपकुलपतिका अन्य दुई जना व्यक्तिको नाम पनि चर्चामा आउन थालेको छ । राजनीतिक तहबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि चर्चामा छ । उच्चस्तरीय राजनीतिक सहमति गरेर त्रिवि सुधारका लागि भट्टराईलाई पठाउनुपर्ने तर्क पनि उठेको छ ।

माओवादी केन्द्रभित्र नै यो तर्क भइरहेको छ र प्रधानमन्त्री प्रचण्डसमक्ष यो सन्देश प्रवाहित पनि गरिएको छ । माओवादी स्रोतका अनुसार उपल्लो तहमा एक चरण यो विषय छलफल पनि भएको छ तर त्यसले ठोस आकार भने लिएको छैन । बाबुरामनिकट स्रोतले पनि यो चर्चाको विषय स्वीकार गरेको छ । बाबुरामनिट स्रोतले भन्यो, ‘शिक्षामन्त्री अशोक राईले पनि बाबुरामजस्तो व्यक्तिलाई उपकुलपति बनाउन पाए हुने भनेर भनेको कुरा सुनेको हो । उच्चस्तरीय राजनीतिक सहमति नभई बाबुराम जाँदैमा त्रिवि सुधार भने हुँदैन ।’

माओवादी केन्द्रका नेता हिमाल शर्माले शिलापत्रसँग बाबुराम भट्टराईलाई भीसी बनाउनपर्छ भन्ने कुरा भएको बताए । उनले भने, ‘उहाँलाई (बाबुराम)लाई भीसी बनाएर त्रिवि सुधार गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । यो विषयमा उहाँसँग भेटेर प्रस्ताव गर्ने तयारी गरेका छौँ ।’

बाबुराम भट्टराईका साथै मेडिकल काउन्सिलका पूर्वअध्यक्ष भगवान कोइरालाको नाम पनि चर्चामा आएको छ । प्राज्ञिक र राजनीतिक वृत्तमा उनको नाम चर्चामा आएको हो । कोइराला ४ वर्षअघि पनि उपकुलपतिको दाबीमा थिए । त्यतिबेला धर्मकान्त बाँस्कोटालाई उपकुलपति छोडेर उनी मेडिकल काउन्सिलको अध्यक्ष हुन गएका थिए । त्यतिबेला कोइरालाले ४ वर्षपछि  उपकुपलपति हुने हो भनेर निकटहरूसँग बताएका थिए । तर, अहिले उनी बालबालिकाका लागि मुट अस्पताल बनाउने अभियानमा जोडिएका कारण उपकुलपति हुन तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट भइसकेको छैन ।