बाबुराम भट्टराईलाई त्रिविको भीसी बनाउन लबिङ, चर्चामा भगवान कोइराला पनि
त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउन थालेको छ । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गर्ने बताएपछि चासो झन् बढेको छ । उपकुलपतिका लागि कांग्रेस, माओवादी केन्द्रनिकट केही प्राध्यापकहरूले पनि चासो राख्न थालेका छन् । उनीहरूले विभिन्न राजनीतिक समूह र सूत्र समातेर लबिङ अगाडि बढाएका छन् ।
माओवादी स्रोतका अनुसार उपकुलपतिमा यसपटक प्रधानमन्त्री प्रचण्डले बोल्ड निर्णय लिने तयारी गरेका छन् । राजनीतिक दबाब थेग्न सक्ने अवस्था भएमा उपकुलपति केही फरक र महत्त्वपूर्ण पात्र नियुक्त हुन सक्ने पनि बताइएको छ ।
उपकुलपतिका लागि माओवादीनिकट चन्द्रमणि पौडेल, लेखनाथ शर्मा, शिवराज भुसाल र केशरजंग बरालको नाम चर्चामा आएको छ । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने शर्मा खुला विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । उनीहरू पनि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि चासो राखेर माओवादी नेताहरूमार्फत लबिङ बढाइरहेका छन् ।
माओवादीनिकट प्राध्यापक संगठनमा राजनीति गरेका पौडेल भने पहिला त्रिविको रजिस्ट्रार थिए । त्यसपछि राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षसमेत रहेका पौडेल अहिले उपकुलपतिको दौडमा छन् । प्रधानमन्त्री प्रचण्ड र नेता वर्षमान पुनलाई समेत भेटेर उनले चासो देखाइसकेका छन् । अनि, अहिलेका कार्यवाहक उपुकलपति भुसाल जो रेक्टर पनि हुन्, उनी पनि दौडमा छन् । भुसालका लागि भने त्रिविका कर्मचारीहरूले पनि लबिङ गरिरहेका छन् । भुसाल खासमा बोल्ड निर्णय नगर्ने र कर्मचारीको एजेन्डा पूरा गरिदिने भएका कारण कर्मचारीले उनको पक्षमा लबिङ गरेको चर्चा पनि भइरहेको छ ।
माओवादीनिकट उनीहरूको सट्टा अहिले कांग्रेसनिकटहरूको पनि दौड रोकिएको छैन । कांग्रेसनिकट पूर्वउकुलपति तीर्थ खनियाँ फेरि दौडमा सामेल भएका छन् । त्रिविको उपकुलपति हुँदा निकै विवादमा तानिएका खनियाँ अहिले पनि दौडमा लागेपछि त्रिविमै आश्चर्य मानिएको छ । चार वर्षअघि खनियाँले प्रधानमन्त्री प्रचण्डको बलमा चितवनको कृषि विश्वविद्यालयको उपकुलपति हुन पनि खोजेका थिए । त्रिविमै दोहोरिन खोजेका खनियाँले त्यहाँ नहुने भए कृषिमा भए पनि जाने भनेर चितवनको राजनीतिक शक्ति प्रयोग गरेका थिए । भलै, त्यहाँ प्रचण्डले खनियाँको सट्टा पुुण्यप्रसाद रेग्मीलाई पठाए । अनि, खनियाँ अहिले पनि दौडमा लागेका हुन् । खनियाँबाहेक पूर्वरेक्टर गुणनिधि शर्मा पनि दौडमा छन् । कांग्रेसनिकट उनी ल क्याम्पसका प्राध्यापक पनि हुन् ।
राजनीतिक रूपमा भागवण्डा हुँदा एकीकृत समाजवादी पार्टीको आस पनि त्रिविमा देखिएको छ । माधव नेपालनिकट मानिएका प्राध्यापक विजय सिलवाल पनि नियुक्तिको आसमा छन् । शिक्षा मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)को भएका कारण उसले पनि भाग खोजिरहेको छ । त्यसैले, उपकुलपति नियुक्ति राजनीतिक खिचातानीको चक्करमा परेको छ ।
बाबुराम र भगवानको चर्चा
त्रिविको उपकुलपतिका अन्य दुई जना व्यक्तिको नाम पनि चर्चामा आउन थालेको छ । राजनीतिक तहबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि चर्चामा छ । उच्चस्तरीय राजनीतिक सहमति गरेर त्रिवि सुधारका लागि भट्टराईलाई पठाउनुपर्ने तर्क पनि उठेको छ ।
माओवादी केन्द्रभित्र नै यो तर्क भइरहेको छ र प्रधानमन्त्री प्रचण्डसमक्ष यो सन्देश प्रवाहित पनि गरिएको छ । माओवादी स्रोतका अनुसार उपल्लो तहमा एक चरण यो विषय छलफल पनि भएको छ तर त्यसले ठोस आकार भने लिएको छैन । बाबुरामनिकट स्रोतले पनि यो चर्चाको विषय स्वीकार गरेको छ । बाबुरामनिट स्रोतले भन्यो, ‘शिक्षामन्त्री अशोक राईले पनि बाबुरामजस्तो व्यक्तिलाई उपकुलपति बनाउन पाए हुने भनेर भनेको कुरा सुनेको हो । उच्चस्तरीय राजनीतिक सहमति नभई बाबुराम जाँदैमा त्रिवि सुधार भने हुँदैन ।’
माओवादी केन्द्रका नेता हिमाल शर्माले शिलापत्रसँग बाबुराम भट्टराईलाई भीसी बनाउनपर्छ भन्ने कुरा भएको बताए । उनले भने, ‘उहाँलाई (बाबुराम)लाई भीसी बनाएर त्रिवि सुधार गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । यो विषयमा उहाँसँग भेटेर प्रस्ताव गर्ने तयारी गरेका छौँ ।’
बाबुराम भट्टराईका साथै मेडिकल काउन्सिलका पूर्वअध्यक्ष भगवान कोइरालाको नाम पनि चर्चामा आएको छ । प्राज्ञिक र राजनीतिक वृत्तमा उनको नाम चर्चामा आएको हो । कोइराला ४ वर्षअघि पनि उपकुलपतिको दाबीमा थिए । त्यतिबेला धर्मकान्त बाँस्कोटालाई उपकुलपति छोडेर उनी मेडिकल काउन्सिलको अध्यक्ष हुन गएका थिए । त्यतिबेला कोइरालाले ४ वर्षपछि उपकुपलपति हुने हो भनेर निकटहरूसँग बताएका थिए । तर, अहिले उनी बालबालिकाका लागि मुट अस्पताल बनाउने अभियानमा जोडिएका कारण उपकुलपति हुन तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट भइसकेको छैन ।




लेखकको सम्वन्धमा