बंगलादेशलाई यू–१९ एसिया कपको उपाधि

बंगलादेशलाई यू–१९ एसिया कपको उपाधि

काठमाडौं । बंगलादेशले यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

आईतबार फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उमेर समूहको प्रतियोगिताको उपाधि हात पारेको हो ।

सुरुवाती ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो ।

आसिकुर रहमान सिबलीको १ सय २९ रनको शतकिय इनिङ्समा अरिफुल इस्लामले ५० र चौधुर मोहम्मद रिजवानले ६० रनको योगदान गरेका थिए । कप्तान महफुजुर रहमान रब्बीले २१ रनको योगदान दिए ।

यूएईका अयमान अहमदले ४ तथा ओमिद रहमान, हार्दिक पाइ र ध्रुव परासरले समान एक एक विकेट लिए ।

बंगलादेशले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४ दशमलव ५ ओभरमा ८७ रनमा समेटियो ।
ध्रुव पाराशरले नटआउट २५ रन बनाएको इनिङ्समा अक्षत रायले ११ रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

मारुफ मृधा र रोहनाट डोला बोरसनले समान ३ तथा इकबाल हुसेन र शेख पावेजले समान २ विकेट झारेका थिए ।

नेपाल एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको थियो । नेपाल सम्मिलित समूहमा भारत, अफगानिस्तान र पाकिस्तान छन् ।