हामी आयौँ !

हामी आयौँ !

आजको २१ औँ शताब्दीको डिजिटल युगमा आजदेखि डिजिटल पत्रकारिताकासाथ नेपाली मिडिया जगतमा आजदेखि हामी पनि डिजिटल पत्रकारितासहित तपाईंहरु माझ आएका छौं ।

फरक शैलीका साथ प्रतिविम्ब नेपाल आम पाठक, स्रोता र दर्शकबीच आएको छ । हामी किन आयौं ? भन्ने प्रश्न हाम्रा भोलिका दिनमा पाठक वर्ग माझ हामीले पस्किने हाम्रा सामग्रीहरुले भोलिका दिनमा दिने नै छन् ।

प्रतिविम्ब नेपाल डिजिटल मिडियाको भिडमा थपिन पुगेको एउटा अर्को संस्थामात्र होइन । भिडमा हराउन या भिडको पछि लाग्न होइन, सञ्चारमाध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा प्रतिविम्ब नेपाल आएको हो ।

प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहिताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार र स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन् । प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकको अभावमा अर्को अपूर्ण रहन्छन् ।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबैखाले विचारको साझा मञ्च हौँ हामी जहाँ निषेधको नीति र वैचारिक असहिष्णुताले कुनै स्थान पाउने छैन ।
हामी परम्परागत ढाँचाको र सहज होइन, नयाँ मानकसहित जीवन्त पत्रकारिताको अभ्यास गर्ने योजनामा छौं । विश्वको बद्लिँदो मिडिया ट्रेन्डअनुसार  तपाईंहरुको चाहनाअनुसार नै मल्टिमिडिया प्लेटफर्मको रुपमा काम गर्नेछ । अझ भनौँ–रेडियो, टेलिभिजन र अनलाइनको वैकल्पिक मिडियाका रुपमा हामी मूलतः ‘भिडियो न्यूज पोर्टल’ को रुपमा आम पाठक, स्रोता र दर्शकसँगै हुनेछौं ।

यसको मतलब यो होइन कि हामी शब्दमा काम गर्देनौं । यस प्लेटर्फममा हामी करिब ५० प्रतिशन भिडियोमा र ५० प्रतिशत शब्दमा काम गर्नेछौं । हामी शब्द र भिडियोमा पुलको भूमिकामा रहेर काम गर्ने छौं, निकट भविष्यमै तपाईंले यसको मुल्यांकन गर्न सक्नुहुनेछ । तपाईंहरुको हात–हातमा रहेका स्मार्ट फोनमा हामी धेरैभन्दा धेरै देखिनेछौं । सबै उमेर समूह तथा पेसा–व्यवसायका व्यक्तिका लागि हामी साथी बन्नेछौं ।

समाचार, विचार र विश्लेषण पस्कने हाम्रो शैली प्रतिविम्ब नेपालले  उठान गर्ने विषयवस्तुबारे यहाँहरुलाई अवगत गराउँ । हाम्रो ‘भिडियो न्यूज पोर्टल’ मा यहाँहरुले राजनीतिदेखि अर्थतन्त्रसम्म, इतिहासदेखि भविष्यसम्म, स्वास्थ्य–शिक्षादेखि पर्यटनसम्म अनि खेलदेखि मनोरञ्जनसम्मका विषयवस्तु पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । अर्थात हामी देखाउनेछाैँ , सम्पूर्ण नेपालको प्रतिविम्ब ।

नयाँ प्रयोगको पत्रकारिता गरिरहँदा हामी स्थापित मुल्य–मान्यताहरुबाट मुक्त हुने छैनौं । पत्रकारिताका सिद्धान्त आत्मसाथ गर्नेछौं । तर, सत्य, न्याय, राष्ट्रियता र जनजीविकाका प्रश्नमा हाम्रो निष्ठा कतै पनि कमजोर हुनेछैन । हामी आम पाठक, स्रोता र दर्शकको पक्षमा उभिनेछौं र सम्झौताहीन पत्रकारितालाई जोड दिनेछौं । हामी तपाईंको रचनात्मक सुझाव सल्लाहको अपेक्षा गर्दछौं ।