त्रिविमा जनसंख्या विषय पढ्नेलाई छात्रवृत्ति दिइने

त्रिविमा जनसंख्या विषय पढ्नेलाई छात्रवृत्ति दिइने

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागले स्नातकत्तोरमा पाँच जनालाई छात्रवृत्ति दिने भएको छ ।

विभागमा विद्यार्थीको संख्या न्यून भएपछि छात्रवृत्ति दिन लागिएको हो । ‘मेरिट र कक्षा क्रियाशीलताको आधारमा ५ जना विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरेका छौँ,’ विभागका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाले भने  ।

उनका अनुसार विभागमै अध्ययन गर्ने विद्यार्थीले मात्र छात्रवृत्ति पाउने छन् । भर्ना शुल्क र फारम शुल्क नलिने विभागले जनाएको छ । यो कोर्स पूरा गर्न करिब ६० हजार लाग्छ । विभागले पूरै छात्रवृत्ति दिनका लागि सरकारलाई आग्रह समेत गरेको छ । ‘फुल स्कलरसीप र छात्राबासको लागि सरकारलाई आग्रह गरेका छौँ,’ खतिवडाले भने ।

विभागले  भर्ना भएमा विद्यार्थीलाई अर्को वर्ष आयोजना हुने अन्तराष्ट्रिय जनसंख्या सम्मेलन तथा राष्ट्रिय तथ्यांक कार्यलयसँग समझदारी गरी  जनगणनाका तथ्यांकहरूको आधारमा तयार हुँदै गरेका थिम्याटिक रिपोर्टहरूमा इन्टर्नसीपको व्यवस्था समेत गर्ने जनाएको छ । ‘सम्मेलनमा ५०/६० जना भोलियन्टर चाहिन्छ । यसमा विद्यार्थीहरूले अवसर पाउने छन्,’ उनले भने ।

विभागमा कार्यरत प्राध्यापकहरूको पहलमा गरिने अध्ययन अनुसन्धानमा पनि विद्यार्थीलाई अवसर दिइने उनले बताए । जनसंख्या अध्ययन अनुसन्धान गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवयेरहरू सिक्ने विशेष पनि विद्यार्थीलाई अवसर दिइने विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर ९ वटा क्याम्पसमा गरेर १५४ जना विद्यार्थी अध्ययनरत छन् । विभागमा भने ५ जना छन् । भर्ना गर्नेको संख्या १५/२० जना हुने तर परीक्षो ५ जना मात्र भएको विभागको भनाइ छ । विभागको क्षमता भने ५० जनासम्म पढाउन सक्ने छ । विभागमा हाल ११ जना शिक्षक छन् ।

जनसंख्या वृद्धि कम भएपछि विद्यार्थी घटे

हाल विद्यार्थी कम रहेको विभागका प्रमुख प्रा.डा योगेन्द्र बहादुर गुरुङ स्वीकार गर्छन् । ‘विद्यार्थी कम हुनु अस्वभाविक होइन । जनसंख्या वृद्धि नै कम भएर आएको छ । ‘चार वर्षे ब्याचलर भयो । पहिले २ वर्षको ब्याचलर थियो । मास्टर पढ्न तयार हुन्थे । ४  वर्ष ब्याचलर पढ्दा २४ वर्षको हुन्छ । अब काम गर्ने कि पढ्ने कि घरबार गर्ने ?,’ विद्यार्थी घटनुको कारण सुनाउँछन् उनी ।

४ वर्षे ब्याचलर सुरु भएपछि शिक्षा नीति परिवर्तन गर्नु पर्ने तर्क उनको छ । ‘शिक्षाका नीतिले भएको हो । अहिलेको अप्सन अमेरिका अष्टेलिया पनि ओपन छ । पहिले यहीँ पढ्नपर्ने थियो । अब यही पढ्नुपर्छ भन्ने बाध्यता छैन । त्रिविको सबै विभागमा विद्यार्थी घटेको छ,’ उनी भन्छन् ।

वर्षमा १० जना जनसाङ्ख्यिकी निस्कियो भने देशका लागि पुग्ने उनको दाबी छ । ‘मास्टर पीएचडी भनेको आवश्यकताको आधारमा पढ्ने हो,’ उनी भन्छन् । मुलुकको आर्थिक विकासका लागि जनसंख्या विषया अपरिहार्य रहेको प्रमुख गुरुङ बताउँछन् । ‘जनसंख्याको अध्ययन नगरी अर्थ, राजनीति, सामाजिक थाहा हुँदैन,’ उनी भन्छन्, ‘कृषिमा, उद्योगमा कति जनशक्ति चाहिने हो त्यसको लागि पनि जनसंख्या अध्ययन गर्नुपर्छ,’ उनी भन्छन् । जनसंख्या नियन्त्रण भन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा विभागको जोड छ । ‘चीनले २०१३  सम्म १ सन्तान भन्यो । २०२१ म आए र तीनवटा सन्तान जन्माउन भन्यो । हाम्रोमा पनि त्यस्तै स्थिति आउन सक्छ । अब जनसंख्या नियन्त्रण होइन व्यवस्थापन गर्नुपर्छ,’ डा. खतिवडा भन्छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जनसंख्या घटिरहेकाले विज्ञहरूले व्यवस्थापनमा जोड दिएका हुन् । यसको अध्ययनका लागि जनसंख्या विषय पढ्न विद्यार्थीहरूलाई विभागले आगह्र गरेको छ । जनसंख्या विषय पढेपछि बेरोजगार बस्नु नपर्ने विभागका प्राध्यापकहरूको दाबी छ । विभागमा आगामी पौष २४ सम्म भर्नाको लागि फाराम भर्ने समय तोकिएको छ ।

विभाग २०४५ सालमा स्थापना भएको विभागबाट हासम्म २ हजार ३ सय बढीले स्नातकोत्तर, १८२ ले एमफिल र १९ जनाले पीएचडी गरेका छन् ।